विपदका कम घटनामा पनि किन भयो बढी मानवीय क्षति
विपदका कम घटनामा पनि किन भयो बढी मानवीय क्षति
१८ असार २०७७ काठमाडौँ : मनसुन सुरु भएको १५ दिनभित्र विभिन्न प्राकृतिक विपत्तिमा परी ३१ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै पहिरोमा परी १८ जनाले ज्यान गुमाएका हुन् । त्यस्तै चट्याङबाट दश जनाले र सर्पदंशका कारण तीन जनाले ज्यान गुमाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नेपालमा मनसुन सुरु भएको जुन १० का दिन नै पर्वतको दुर्लुङमा पहिरो जाँदा दुई घरका नौ जनाको पहिरोले पुरेका कारण मृत्यु भएको थियो । त्यस गाउँको सात घर अझै पनि पहिरोको उच्च जोखिममा रहेका छन् । त्यस्तै असार आठ गते पाल्पाको सम्मोबारीमा पहिरो जाँदा चारजनाको मृत्यु भएको थियो । त्यस्तै विभिन्न स्थानमा घर बाहिर काम गरिरहेका अवस्थाका मानिसलाई चट्याङ लागेको जनाइएको छ ।
यस वर्ष विपद्का घटना मनसुनका १५ दिनमा कम भए पनि मानवीय क्षति बढी भएको प्राधिकरणले जनाएको छ । विगत १५ दिनमा १४३ वटा विपदका घटना भएका छन् । जसमा ३१ को मृत्यु, ४८ घाइते र १६८ घरपरिवार प्रभावित बने । गत वर्ष यसै अवधिमा १५९ वटा विपदका घटना भएका थिए । जसका कारण १४ जनाको मृत्यु , दुइ जना बेपत्ता, ३८ जना घाइते र १८७ घरपरिवार प्रभावित बनेका थिए । यस वर्षको १५ दिनमा अनुमानित १२ करोड ६१ लख ३२ हजार २५० रुपियाँ बराबरको क्षति भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १३ करोड २६ लाख ३१ हजार चार सय रुपियाँ बराबरको क्षति भएको थियो ।
विगत दश वर्षमा मनसुनका १५ दिनमा पहिरोमा परी ९७ जनाको मृत्यु भएको थियो । त्यस्तै ८४ जनाको बाढीका कारण मृत्यु भएको थियो । मनसुनका १५ दिनको विश्लेषण गर्दै प्राधिकरणले दश वर्षमध्ये सबैभन्दा धेरै २०७० सालमा प्राकृतिक विपत्तिले मानिसको बढी ज्यान लिएको बताएकाे छ । सो वर्ष बाढीबाट ५२ जनाको र पहिरोबाट ३० जनाको मृत्यु भएको थियो । वि. सं. २०६९ र २०७२ सालमा भने बाढीले भन्दा पहिरोले धेरै मानिसको ज्यान लिएको थियो । वि. सं. २०६९ मा पाँच जनाको बाढीबाट र १५ जनाको पहिरोमा परी ज्यान गएको थियो । त्यस्तै २०७२ सालमा तीन जनाको बाढीबाट र १३ जनाको पहिरोका कारण ज्यान गएको थियो ।
प्राधिकरणले क्षतिको न्यूनीकरण गर्न सरकारको तर्फबाट बलियो तयारी गरेको प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । उहाँका अनुसार पर्वतको दुर्लुङमा गएको पहिरोका बारेमा समेत अध्ययन प्रतिवेदत तयार पारिएको छ । जसले भेल पहिरोबारे अध्ययन गरि थप घरपरिवारलाई जोगाउन कार्यदल गठन गरेर सुझाव सङ्कलनको तयारी भएको छ ।
बाढीबाट जोगाउन पूर्वतयारी र पूर्वसूचनासँगै उद्धार र राहतका लागि भण्डारणसमेत सुरु भएको छ ।