देश

निर्मला प्रकरणको डेढ वर्ष-पाँच प्रहरी अधिकृत फेरिंदापनि घटना उपलब्धि बिहिन

निर्मला प्रकरणको डेढ वर्ष-पाँच प्रहरी अधिकृत फेरिंदापनि घटना उपलब्धि बिहिन

१६ माघ २०७६ काठमाडौँ : भीमदत्तनगर-कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । शुरुआतको समयमा अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकीन्द्र खड्का खटिनुभएको थियो ।

निर्मलालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत उहाँसहित सात प्रहरी निलम्बितमा पर्नुभएको थियो । गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टलाई घटनाको केही महिनापछि सेवाबाटै बर्खास्त गरिदिएको थियो ।

‘निर्मला प्रकरण’मा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अनुसन्धान अधिकृत परिवर्तन भइसकेको छ । शुरुका अनुसन्धान अधिकृत खड्का निलम्बन पर्नुभएपछि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले सम्हाल्नुभएको थियो ।

उहाँपछि सरुवा भएर आउनुभएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रकरणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो । यसपछिका प्रहरी नायब उपरीक्षक गणेश बम पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको छ ।

प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै उक्त घटनाको अनुसन्धान अधिकृत रहनुभएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नियन्त्रण गणमा काज सरुवा गरिएको छ । उहाँ पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताउनुभयो ।