२४ घण्टामा १६ घटना, १० को मृत्यु
२४ घण्टामा १६ घटना, १० को मृत्यु
२० असार २०७७ काठमाडौँ : विगत २४ घण्टामा विपतका १६ वटा घटना भएका छन् । जसमा दश जनाको मृत्यु भएको छ । एकैदिन एक करोड दुई लाख ५०० रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।
जसमध्ये सबैभन्दा ठूलो घटना बझाङको केदारस्युँ गाउँपालिका गएको पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यहाँ पहिरोमा वेपत्ता मध्ये छ जनाको शव फेला परेको छ । थप एकको अझै खोजी जारी छ । त्यस्तै सिन्धुपाल्चोकको पहिरोमा एकजनाको ज्यान गएको छ ।
बझाङमा पहिरोले घर बगाएपछि विचल्लीमा परेका १८ घरपरिवारलाई स्कुलमा राखिएको छ । गाउँजाने बाटोमा रहेको खोलामा बाढी आएको र पानी परिरहेकाले उद्धार टोली पुग्न समेत कठिनाइ भएको थियो । स्थानीय उद्धार टोली मध्यान्ह् पुगेर काम थालेपनि हेलिकप्टरमा राहत र थप उद्धारको टोली पुर्याउन कठिन भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो ।
त्यस्तै सिन्धुपाल्चोकको पहिरोमा एकजनाको मृत्यु भएको छ भने सात लाख बराबरको धनमाल क्षति भएको छ । उता गुल्मीमा पनि पहिरो जाँदा दुई वटा गोठ र चौपाया सहितको भौतिक क्षति भएको जनाइएको छ ।
सर्पदंशबाट एकैदिन तीनजनाको मृत्यु
शनिबार एकैदिन सर्पदंशका कारण तीन जनाको मृत्यु भएको छ । सिराहामा २ र धनुषामा एक गरि तीनजनाको सर्प दंशले मृत्यु भएको प्राधिकरणले उल्लेख गरेको छ । सर्पदंशबाट मृत्यु हुनेमा सिराहाका दुई बालिका र धनुषाका एक बालक रहेका छन् । सर्प दंशमा परेका नुवाकोटका एकजनाको उपचार भैरहेको छ ।
चार स्थानमा आगलागी
बर्षाको मौसम भएपनि विभिन्न स्थानमा आगलागि हुँदा भौतिक क्षति भएका छन् । खोटाङ, मोरङ, डोल्पा र भक्तपुरमा गरि चार स्थानमा आगलागि भएको हो ।
यसैबीच मकवानपुरको हेटौँडामा चट्याङ लागेर एकजना घाइते भएका छन् ।
प्युठान र कैलालीमा बाढी
प्युठानको नौबहिनी गाउँपालिका ६, लाखचौरमा बाढीले निर्माणाधन पक्कीपुलमा क्षति पुर्याएको छ । जसका कारण ४० लाख नोक्सान भएको छ । त्यस्तै कैलालीको बर्दगोरिया वडानम्बर ६ बास्कोटीमा एक्कासी बाढी पस्दा १२ घर डुबानमा परेको छ । कैलालीकै जोशीपुर गाउँपालिकाका काढा नदीको बाढीले एक घर बगाएको छ ।