वैवाहिक अंगीकृतलाई थप कडाइ, अब चुनिने अधिकार १२ वर्षपछि मात्रै
वैवाहिक अंगीकृतलाई थप कडाइ, अब चुनिने अधिकार १२ वर्षपछि मात्रै
१८ असार २०७७ काठमाडौं : हाल बिहे गरेर आउनेवित्तिकै विवाहदर्ता प्रमाणपत्रको आधारमा वैवाहिक अंगीकृत नागरिकता प्राप्तीको प्रक्रिया सुरु हुने नेपालमा अब वैवाहिक अंगीकृतले नागरिकता पाउने अधिकार नै ७ बर्ष हुन लागेको बेला त्यसमा थप कडाइ गर्दै चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ ।
संविधानले नरोकेका पदाधिकारीमा निर्वाचित हुन (चुनिने अधिकार प्राप्त गर्न) अंगीकृत नागरिकले अंगीकृत नागरिकता प्राप्त गरेको पाँच वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
अंगीकृत नागरिकता प्राप्त गर्नका लागि नै ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता ऐन संशोधन हुने भएपछि वैवाहिक अंगीकृतले चुनिने अधिकार १२ वर्षपछि मात्रै पाउने छन् ।
संविधानको धारा २८९ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने स्पष्ट गरेको छ ।
यीबाहेकका पदाधिकारीमा अंगीकृत नागरिकता प्राप्त व्यक्ति पनि निर्वाचित हुन सक्छन् । संविधानको २८९ को उपदधारा २ अनुसार यी पदहरुमा निर्वाचित हुन वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा ५ वर्ष नेपालमा बसोबास गरेको हुनुपर्ने व्यवस्था छ ।
तर, अब अंगीकृत नागरिकता प्राप्त गर्न नै नेपालमा विवाह गरेर आएको र ७ वर्ष निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने व्यवस्था गरिएपछि संविधानको ५ वर्ष र ऐनको ७ वर्ष गरी १२ वर्षसम्म वैवाहिक अंगीकृत नागरिकले चुनिने अधिकार प्राप्त गर्ने छैनन् ।