क्रिकेट

पारसको बरियता खस्किदा सन्दिपको सुधार

पारसको बरियता खस्किदा सन्दिपको सुधार

२९ फागुन २०७६ काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको टी ट्वान्टीतर्फ खेलाडीको वरियतामा सन्दीप लामिछाने दुई स्थानमाथि उक्लिनुभएको छ । पारस खडका भने ब्याटिङ तर्फ १३ स्थान गुमाउनुभएको छ । ब्याटिङ र बलिङ विधातर्फ आईसीसीको एक सय खेलाडीको सूचीमा नेपालबाट पारस र सन्दीप मात्रै प्रतिनिधित्व गर्नुहुन्छ । यसअघि पनि एकसय उत्कृष्टको सूचीमा नेपालबाट सन्दीप र पारस मात्रै हुनुहुन्थ्यो । अलराउण्डरतर्फ भने पारससँगै करण केसी र सोमपाल कामी अटाएका छन् ।

आईसीसीले बिहिबार जारी गरेको नयाँ वरियता बमोजिम बलिङतर्फ सन्दीप ८४ औं स्थानमा उक्लिनुभएको छ । यसअघि फागुन १५ गते जारी गरिएको वरियतामा उहाँ ८६ औं स्थानमा हुनुहुन्थ्यो । टी ट्वान्टीको बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब ऊर रहमान पहिलो र दोस्रो स्थानमा यथावत हुनुहुन्छ । अष्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा हुनुहुन्छ ।

त्यसैगरी, ब्याटिङतर्फ पारस खडका ७५ औं स्थानमा पुग्नुभएको छ । यसअघि उहाँ ६३ औं स्थानमा हुनुहुन्थ्यो । थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन कपमा पारसले ब्याटिङमा उल्लेख्य प्रदर्शन गर्न नसकेको नतिजा विश्व वरियतामा उहाँको खस्किदो स्थानमा देखिएको छ । उहाँ एकैपटक १३ स्थान गुमाउनुभएको छ ।

ब्याटिङमा पाकिस्तानका बाबर आजम शिर्ष स्थानमा हुनुहुन्छ । भारतका लोकेश राहुल दोस्रो तथा अष्ट्रेलियाका आरोन फिञ्च तेस्रो स्थानमा हुनुहुन्छ ।

अलराउण्डरको वरियतामा भने पारस खडका यथावत हुनुहुन्छ । यसअघि २६ औं स्थानमा रहनुभएका उहाँ नयाँ वरियतामा पनि उक्त स्थान यथावत राख्नुभएको छ । सोमपाल कामी र करण केसी भने अलराउण्डरतर्फको वरियतामा निरन्तर ओरालो लागेका छन् । सोमपाल ७४ औं स्थानमा पुग्नुभएको छ । यसअघि उहाँ ६५ औं स्थानमा हुनुहुन्थ्यो । ७४ औं स्थानमा रहनुभएका करण केसीको वरियता पनि बिग्रिएको छ । उहाँ ८८ औं स्थानमा पुग्नुभएको छ ।

सोमपाल कामी पछिल्लो श्रृखंलामा सहभागी हुनुभएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *