१३ औं साग: आज १२ खेल हुँदै(सम्पूर्ण जानकारी)
१३ औं साग: आज १२ खेल हुँदै(सम्पूर्ण जानकारी)
१६ मङ्सिर २०७६ काठमाडौँ : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा १२ खेल हुँदै छ । आज सोमाबर सागमा तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुँदै छ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुनेछ भने अन्य खेल काठमाडौंमा हुने छ । सोमबार तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ ।
पुरुष फुटबल :
आज त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा दुई खेल हुँदै छ । बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुँदै छ भने माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।
भलिबल :
भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंंगलादेश र श्रीलंका भिड्नेछन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।
खेल अपरान्ह ४ बजे सूरु हुनेछ ।
खो खो :
खो खोमा दोस्रो दिन पुरुष तर्फ़ श्रीलंका र बंगलादेश तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । श्रीलंका र बंगलादेश बिहान ९ बजे र नेपाल र भारत बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन् ।
कीर्तिपुरको नयाँ बजारमा सोही दिन श्रीलंका र नेपाल अपरान्ह ४ बजे र भारत र बंगलादेश साँझ ५ बजे भिड्नेछन् । महिला स्पर्धामा नेपाल र भारत बिहान ११ बजे र श्रीलंका र बंगलादेश मध्यान्न १२ बजे प्रतिस्पर्धा गर्नेछन् । सोही दिन श्रीलंका र नेपाल साँझ ६ बजे र भारत र बंगलादेश साँझ ७ बजे भिड्नेछन् । आईतबार नेपालका दुवै टिमले सफलता हात पारेका थिए । नेपालको पुरुष र महिला टिमले बंगलादेशलाई हराएका थिए ।
कराते :
साग अन्तर्गत कराते सोमबारबाट सुरु हुँदै छ । खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सोमबार ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।जसमा नेपालका ९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
तेक्वान्दो :
सागमा नेपालले सर्वाधिक स्वर्णको आशा गरेको तेक्वान्दो सोमबार सुरु हुँदैछ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा खेल बिहान ९ बजेबाट सुरु हुनेछ । तेक्वान्दोमा सोमबार सर्वाधिक १३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
ब्याडमिन्टन :
पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार पुरुष टिम इभेन्ट र महिला टिम इभेन्टको सेमिफाइनल र फाइनलको खेल हुँदैछ । नेपालले सेमिफाइनलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्नेछ ।नेपालको लागि पुरुष टिम इभेन्टमा दिपेश धामी, प्रिन्स दाहाल र रत्नजित तामाङले खेल्ने छन् भने महिला टिम इभेन्टमा रसिला महर्जन, नङ्शल तामाङ र जेसिका गुरुङले प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनलको खेल पोखरा रंगशालाको कभर्ड हलमा बिहान १० बजे सुरु हुनेछ ।
महिला क्रिकेट :
पोखरामा हुने महिला क्रिकेटमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्दै छ ।
पोखरा रंगशालामा हुने खेल बिहान ११ बजे सुरु हुनेछ ।
टेबल टेनिस :
टेबल टेनिसका खेल बिहान १० बजे औपचारिक देखि दुरू हुँदै छ ।
खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।
टेनिस :
लन टेनिसको प्रतिस्पर्धा पनि आजै बाट सुरु हुने छ। सातदोबाटोस्थित टेनिस कोर्टमा नेपालले महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ ।
बिहान नेपालले टिम इभेन्टको पुरुष र महिलामा क्वाटरफाइनल खेल खेल्नेछ । पुरुषतर्फ नेपालले बंगलादेशको सामना गर्नेछ भने महिलातर्फ माल्दिभ्सको सामना गर्दैछ ।
गल्फ :
साग अन्तर्गत गल्फको प्रतिस्पर्धा गोकर्ण गल्फ क्लबमा हुनेछ ।
उसु :
उसुको औपचारिक उद्घाटन आजै हुनेछ ।
उद्घाटन लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।
ट्रायथलन :
पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा सोमबार बिहान हुनेछ ।
सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालका नितेश मानन्धर र बशन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्ने छन् ।