जीत संगै बार्सिलोना भन्दा २ अंक मात्र रियल पछाडी
जीत संगै बार्सिलोना भन्दा २ अंक मात्र रियल पछाडी
५ असार २०७७ काठमाडौं : रियल मड्रिडले स्पानिस ला लिगामा सहज जित हात पारेको छ । बिहीवार राति भएको खेलमा करिम बेन्जामाको दुई गोल मद्दतमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।
पहिलो हाफमा भ्यालेन्सियाले गोलरहित बराबरीमा रोके पनि रियलले घरेलु मैदानमा सबै गोल दोस्रो हाफमा गरको थियो । खेलको अन्तिमतिर भ्यालेन्सिया १० खेलाडीमा समेटिन पुग्यो ।
खेलको २१औं मिनेटमा भ्यालेन्सियाले अग्रता लिए पनि गोलले मान्यता पाएन । रोडरिगो मोरेनोले गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन।
दोस्रो हाफमा भने रियलले उत्कृष्ट प्रदर्शन गर्यो । ६१ औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई अग्रता दिलाए । ७४औं मिनेटमा मार्को असेन्सिओले रियलको अग्रता दोब्बर पारे । ८६औं मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३-० को अगरता बनाएको हो ।
दोस्रो गोलपछि बेन्जामा रियलका लागि सर्वाधिक गोल गर्नेमा फेरेन्च पुस्कासलाई पछि पार्दै पाँचौ स्थानमा उक्लेका छन् । बेन्जामाले २४३ गोल गरेका छन् । पुस्कासको २४२ गोल छ । रियलका लागि क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ४५० गोल गरेका छन् । ८८औं मिनेटमा भ्यालेन्सिया कान इन ली रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी २ मा घटाएको छ र उपाधि होडलाई कायमै राखेको छ । रियलले २९ खेलबाट ६२ अंक जोडेको छ । लिडर बार्सिलोनाको समान खेलबाट ६४ अंक छ ।
उता शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने योजनामा रहेको रियल सोसिडाडलाई धक्का लागेको छ । अलेभजसँग २-० ले पराजित भएपछि सोसिडाड छैटौँ स्थानमा छ । २९ खेलबाट सोसिडाडको ४७ अंक छ ।
हारपछि सोसिडाडले एट्लेटिको मड्रिड र गेटाफेलाई पछि पार्दै चौथो स्थानमा उक्लने मौका गुमाएको छ ।