Breakingराजनितीसमाचार

नयाँ नक्सा सम्बन्धि बिधेयक संसदबाट सर्वसम्मत अनुमोदन

नयाँ नक्सा सम्बन्धि बिधेयक संसदबाट सर्वसम्मत अनुमोदन

३१ जेठ २०७७ काठमाडौँ : प्रतिनिधि सभामा पेश गरिएको नयाँ नक्सा सम्बन्धि बिधेयक संसदबाट सर्वसम्मत अनुमोदन भएको छ।

प्रतिनिधि सभामा बसेको आजको बैठकले दुइ तिहाइ भन्दा बढी मतले अनुमोदन गरेको हो। मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।

नयाँ नक्सा अनुमोदन गर्नु भन्दा आघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान संंशोधन गरेर नेपालले दुश्मनी चाहेको भन्ने अर्थ नलगाउन आग्रह गरे ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको मुद्दामा सरकारलाई सधैं समर्थन रहने बताए ।

यता राजपाका नेता राजेन्द्र महताले संविधानप्रतिको असन्तुष्टि थाती राखेर नक्सासम्बन्धी प्रस्तावलाई समर्थन गर्ने घोषणा गरे ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन प्रस्तावको समर्थन गरेका छन् ।

बैठकमा बोल्ने सबै सांसदले संशोधनको पक्षमा मत राखेका छन् र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन अब गम्भीर पहल गर्नुपर्ने बताएका छन् ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालले आफ्नो भूमि फिर्ता लिएरै छोड्छ भन्ने भारतले थाहा पाउनुपर्ने बताइन् । संविधान संशोधनपछि नेपाल अब सप्रमाण वार्तामा बस्छ भन्दै उनले भनिन्, ‘सप्रमण बोल्ने र दाबी गर्ने नेपालीहरुको बानी छ । तत्थ्य र प्रमाणका साथ वार्तामा बस्छौं ।’

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।