नेपालको नयाँ नक्सा, लिम्पियाधुरा सहित ३३५ किमि नेपाली नक्सामा
नेपालको नयाँ नक्सा, लिम्पियाधुरा सहित ३३५ किमि नेपाली नक्सामा
५ जेठ २०७७ काठमाडौं : मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरूमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’
उनका अनुसार नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ, उनले भने।
अब नेपालको नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिनेछ । जुन यसअघिको नक्सामा थिएन । नयाँ नक्साअनुसार संविधानको निसाना छाप रहेको अनुसूची पनि संसदबाट संशोधन गरिने भएको छ ।
भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार नेपालको नयाँ नक्सा इतिहासका जानकार भैरव रिसालले सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्साभन्दा अलिकति ठूलो छ । मुलुकको उत्तरपश्चिमको सिमाना अहिले सार्वजनिक भएको लिम्पियाधुरासहितको नक्साभन्दा अझै अलिकति चुच्चो अगाडि गएर हात्तीको सुँढझैं तल निहुरिएको छ।
१८१६ को सुगौली सन्धिको धारा ५ ले स्थापित गरेको आधार, प्रमाण र त्यसयताका विभिन्न कागजातका आधारमा काली नदीको मुहान रहेको लिम्पियाधुरा नेपालकै सीमा हो भन्ने यथेष्ट प्रमाण रहेकाले राजनीतिक नक्सा जारी गर्ने निर्णय गरेको हो । सरकारले सुगौली सन्धि, तत्कालीन समयमा नेपालीले नै गरेको जनगणना, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका बासिन्दालाई भारत सरकारले नेपालमा तिरोभरान गर्नु भनेका हस्तलिखित पत्र र त्यहाँका नागरिकले सन् १९७३ मा मालपोतमा तिरो तिरेको रसिदको प्रमाण सरकारसँंग भएकाले उक्त क्षेत्र नेपालकै हो भन्नेमा कुनै दुविधा नभएको जनाएको छ ।