मेस्सीले भने – क्याम्प नोउमा खेल्न आतुर छु !
मेस्सीले भने – क्याम्प नोउमा खेल्न आतुर छु !
२५ जेठ २०७७ काठमाडौं : विश्वचर्चित फुटबल खेलाडी एवं बार्सिलोनाका कप्तान लिओनल मेस्सीले घरेलु मैदान क्याम्प नोउ धेरै मिस गरेको भन्दै त्यहाँ फेरि खेल्न आफु आतुर रहेको बताएका छन् ।
शनिबार प्रशिक्षणका क्रममा क्याम्प नोउ पुगेका मेस्सीले त्यहाँ फर्किँन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘मैले यो स्थानलाई एकदम धेरै मिस गरेँ,’ मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, ‘यहाँ फेरि खेल्नलाई म प्रतिक्षा गर्न सक्दिन ।’
मेस्सीको उक्त पोस्टले पनि उनी क्याम्प नोउमा खेल्न कति उत्साहित छन् भन्ने देखाएको छ । कोरोनाभाइरस महामारीका कारण मार्चदेखि ला लिगा स्थगित छ ।
शनिवार बार्सिलोनाका खेलाडीहरुले महामारीपछि क्याम्प नोउमा पहिलो पटक ट्रेनिङ गरेका थिए । तिघ्राको अघिल्लो भागमा चोटका कारण मेस्सीले पछिल्लो दुई दिनको ट्रेनिङ गरेका थिएनन् । शनिवार भने मेस्सी क्याम्पनोउको पिचमा ट्रेनिङ गरिरेका थिए । उनले टिमका अन्य सहकर्मीसँग ट्रेनिङ गरेनन् । मेस्सीले मैदान एक छेउँमा छुट्टै ट्रेनिङ गरेका थिए ।
मेसी ट्रेनिङमा फर्कनु सकारात्मक रहेको र सोमबारसम्म समूह ट्रेनिङमा फर्कनसक्ने विश्वास छ ।
कोरोनाभाइरसपछि यही जुन १२ देखि ला लिगा फेरि शुरु हुँदैछ । लिग लिडर बार्सिलोनाले जुन १३ मा मालोर्कासँग खेल्दैछ । बार्सिलाले दोस्रो स्थानको रियल मड्रिडसँग २ अंकको अग्रता बनाएको छ ।