समाचारसमाज

क्वारेन्टिनमा बस्नेहरुबाट गाउँपालिकाका प्रशासकीय अधिकृत कुटिए

क्वारेन्टिनमा बस्नेहरुबाट गाउँपालिकाका प्रशासकीय अधिकृत कुटिए

२१ जेठ २०७७ काठमाडौं : दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार आक्रमण गरेका छन् ।

वडा नम्बर–४ स्थित ब्राइट फ्यूचर एकेडेमी क्वारेन्टिनमा बसेकाहरुको समूहले क्वारेन्टिन स्थलको व्यवस्थापन उचित नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

क्वारेन्टिनको व्यवस्थापन उचित नभएको बाहना बनाएर योजनाबद्ध तरिकाले आक्रमण गरेको पाइएको छ । उक्त क्वारेन्टिनमा भारतका विभिन्न स्थानबाट आएका एक महिला, ३ जना बालबालिकासहित ४२ जना बस्दै आएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत थापामाथि आक्रमण गरेको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।

कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन

कोरोना भाइरस नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यहवार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो ।

निर्देशन दीइएको पत्रमा भनिएको छ, ‘महामारी नियन्त्रणको काममा अग्रपङ्तिमा खटिएका सबै राष्ट्र सेवकको मनोबल उच्च पार्न कार्यस्थलमा सुरक्षाको वातावरण निर्माण गर्ने । साथै, सुरक्षामा विशेष चनाखो भएर अवाञ्छित, गैरकानूनी र अभद्र व्यवहार गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिइ कानून बमोजिम कारबाही गर्ने ।’

बुधबार रौतहटको राजपुर नगरपालिका–९ मा क्वारेन्टाइन स्थलमा खटिएका सिनियर अहेव खुर्सीद आलम र रामनरेश शाह कुटिएका थिए । यसअघि डोटी पनि स्वास्थ्यकर्मी कुटिएका थिए । केही अघि नागढुंगामा पनि स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की पक्राउ परेका थिए ।