रौतहटमा क्वारेन्टिन बसेकाबाटै कुटिए स्वास्थ्यकर्मी
रौतहटमा क्वारेन्टिन बसेकाबाटै कुटिए स्वास्थ्यकर्मी
२१ जेठ २०७७ काठमाडौं : रौतहटको राजपुर नगरपालिका-९ स्थित एक क्वारेन्टिन स्थलमा क्वारेन्टिन बसेकाबाटै स्वास्थ्यकर्मी कुटिएका छन्।
राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरूको आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन्। घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ। उनकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेकाे छ।
पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरूले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले संचार माध्यमलाइ जानकारी दिए ।
‘क्वारेन्टाइनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरू पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारीअनुसार आरडीटी परीक्षण भइरहेको थियो ।’ बुधबार २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो । आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरूले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि जाइलागे ।’ क्वारेन्टिनमा बसेका व्यक्तिहरूले स्वास्थ्यकर्मीहरू चढेर आएको तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको ठाकुरले बताए ।
क्वारेन्टिनमा बसेकाहरूको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो । यसअघि इशनाथको जोकहामा रहेको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मीलाई कुटपिट भएको थियो ।