ललितपुरमा कोरोना संक्रमित १ जनाको मृत्यु
ललितपुरमा कोरोना संक्रमित १ जनाको मृत्यु
१४ जेठ २०७७ काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।
बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।
ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएकोमा बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो।’
ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।
कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।