पूर्वमन्त्री रावलको सुरक्षामा खटिएका थिए भक्तपुरका कोरोना संक्रमित सशस्त्र प्रहरी जवान

भक्तपुरका कोरोना संक्रमित सशस्त्र प्रहरी जवान एक महिना अघि बिदामा बसेर फेरी काममा फर्कने तयारीमा थिए

३१ बैशाख २०७७ काठमाडौँ : नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रावलका स्वकीय सचिव गोविन्द दुलालका अनुसार ती सुरक्षाकर्मी एक महिना पहिले बिदामा गएका थिए । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा फर्किन लागेका थिए । सशस्त्र प्रहरीको सुरक्षा गणबाट फेरि रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गरेपछि मात्रै आउन भनिएको थियो ।

‘रावल सरले फेरि आउन खोजेपछि कोरोना लागेको छैन भनेर पुष्टि भएपछि मात्रै आउन भन्नुभएको थियो । त्यसपछि सशस्त्र प्रहरीको अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो,’ दुलालले भने ।

उनी रावलको सुरक्षार्थ पछुवा गाडीमा खटिएका थिए । उनी भक्तपुर दुवाकोटका स्थानीय बासिन्दा भएको खुलेको छ । सशस्त्र प्रहरीले नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको टिमसँग समन्यवय गरेर संक्रमित ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

ती सुरक्षाकर्मीमा कोरोनाको कुनै पनि लक्षण नभएको बताइएको छ । प्रहरीले अहिले दुवाकोटलाई सिल गरेको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये भक्तपुरमा ती सुरक्षाकर्मी र एक जना नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ