समाचार

दक्षिणकालीका वडाध्यक्ष पक्राउ

दक्षिणकालीका वडाध्यक्ष पक्राउ

१६ माघ २०७६ काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जनालाइ मानव बेचबिखन आरोपमा प्रहरीले सानेपाबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको थियो ।

एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको एक खाजाघरमा प्रहरीले छापा मारेको थियो । ललितपुरका एसएसपी टेकप्रसाद राईले अभियोगबारे थप अनुसन्धान गर्नुपर्ने भएपछि खड्कासहित ३ जनालाई गत शुक्रबार नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् ।