स्वास्थ्य

कोरोना भाइरसकाे परीक्षण काठमाडाैंमा सुरु

कोरोना भाइरसकाे परीक्षण काठमाडाैंमा सुरु

१४ माघ २०७६ काठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण परीक्षण सुरु गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षण सुरु गरिएको प्रयोगशालाले जनाएको छ ।

भाइरस परीक्षण गर्न आवश्यक पर्ने रसायन उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । रसायन उपलब्ध नहुँदा यसअघि प्रयोगशालाले बिरामीको नमूना हङ्कङ पठाएको थियो । प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले रसायन आए लगत्तै दुईजनाको नमूना सङ्कलन गरी परीक्षण सुरु गरिएको बताउनुभयो । उहाँले दुबैजनाको स्वास्थ्य प्रतिवेदन मङ्गलबार आउने जानकारी दिनुभयो ।
स्वाइन फ्लु, एभियन इन्फ्लुएन्जा, इबोला लगायतका भाइरसको संक्रमण जाँच्ने उपकरण ‘पोलिमराइज चैन रिएक्शन’ पीसीआर हो ।

भाइरसको समूह बमोजिम रसायन आवश्यक पर्ने हुँदा विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा उक्त रसायन नेपाल भित्र्याइएको हो । प्रवक्ता गुप्ताले पर्याप्त रसायन उपलब्ध भएको बताउनुहुँदै थप रसायनका लागि टेण्डर प्रकृया सुरु गरिने बताउनुभयो ।

हालसम्म नेपालमा एकजनामा मात्रै कोरोना भाइरसको संक्रमणको पुष्टी भएको छ । अर्को दुई जनामा संक्रमणको सम्भावना देखिएको छ । दुबैजनालाई शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना गरी उच्च निगरानीमा राखिएको छ । दुबैजनाको स्वास्थ्य जाँचको लागि ‘थ्रोट स्वाब’को नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । प्रयोगशालाले मङ्गलबार प्रतिवेदन तयार हुने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले परीक्षणका लागि मापदण्ड निर्धारण गरेको छ । मापदण्ड बमोजिम ‘थ्रोट स्वाब’, ‘ओरोफ्यारिंक्स’, रगतको नमूना लिएर पीसीआर उपकरणमार्फत् नोबल कोरोना भाइरसको संक्रमण रहे/नरहेको छुट्याइन्छ ।

प्रवक्ता गुप्ताले सबैभन्दा उपयुक्त, सहज प्रकृया ‘थ्रोट स्वाब’को नमूना लिनु नै रहेकोले परीक्षणका लागि उक्त विधि अपनाउन लागिएको उल्लेख गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रारम्भिक चरणमा चीनको वुहान शहरबाट आएकालाई मात्रै परीक्षण गर्ने मापदण्ड बनाएको छ ।

जस अनुसार बिरामीको विगत् हेरेर मात्रै नमूना सङ्कलन गरिनेछ । वुहानबाट आएको र प्रारम्भिक लक्षण देखिएपछि मात्रै परीक्षणको लागि नमूना लिने प्रयोगशालाले जनाएको छ । केही दिनसम्म उक्त प्रकृया चलेपछि संक्रमितको संख्या हेरेर अन्यको लागि नमूना परीक्षण खुला गरिने तयारी गरिएको प्रवक्ता गुप्ताले प्रष्ट्याउनुभयो ।

यसअघि सरकारले कोरोना भाइरसको संक्रमण फैल्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित मन्त्रालय र विभागहरुलाई निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *