पोन्टिङ्ग, अकरम, मैथ्यु, गिलक्रिष्ट जस्ता तीन दशकका महान क्रिकेटरहरुको म्याच हुँदै

पोन्टिङ्ग, अकरम, मैथ्यु, गिलक्रिष्ट जस्ता तीन दशकका महान क्रिकेटरहरुको म्याच हुँदै

१२ माघ २०७६ काठमाडौं : क्रिकेट अष्ट्रेलियाले आयोजना गर्न लागेको ‘च्यारिटि म्याच’ खेल्न विगत् तीन दशकका महान क्रिकेटरहरु मैदानमा उत्रिन लागेका हुन् । ‘च्यारिटि म्याच’मा दुई टोलीको नेतृत्व विश्व क्रिकेटका महान खेलाडी रिक्की पोन्टिङ्ग र शेन वार्नले गर्नेछन् । क्रिकेट अष्ट्रेलियाले बिग बैश लिगको फाइनल अघि डढेलो पीडितलाई राहत जुटाउन ‘च्यारिटि म्याच’ आयोजना गर्न लागेको हो र उक्त अवसरमा विश्वका चर्चित खेलाडी रङ्गशाला फर्किन इच्छुक देखिएका हुन् ।

अष्ट्रेलियालाई लगातार दुई पटक विश्वकपको उपाधि दिलाउनुभएका पोन्टिङ्ग क्रिकेट रङ्गशालामा फेरी उत्रिन लागेको हेर्न पाउनु प्रशंसकका लागि ठूलो अवसर हुनेछ । तर पोन्टिङ्ग एक्लो महान क्रिकेटर मात्रै ‘च्यारिटि म्याच’मा उत्रिन लागेको हैन । करीब एक दशकसम्म विश्व क्रिकेटको ब्याटिङ्ग विधामा वर्चश्व कायम गरेका अष्ट्रेलियाकै म्याथ्यु हेडन र एडम गिलक्रिष्ट पनि ब्याट समात्न लागेका हुन् ।

दुबै ब्याट्सम्यान एक्काइसौं शताब्दीको पहिलो दशकमा विष्फोटक ब्याट्सम्यानको उपमा पाउनुभएको थियो । बलिङ्गमा एक्काइसौं शताब्दीको पहिलो दशकमा वर्चश्व कायम गर्नुभएका तिब्र गतिका बलर ब्रेट ली र ८० को दशकमा अलराउण्ड प्रदर्शन गर्नुभएका पाकिस्तानका चर्चित अलराउण्डर वसिम अकरम पनि रङ्गशाला उत्रिन लागेका हुन् । त्यसैगरी, इंग्ल्याण्डका प्रमुख बलर स्टुअट ब्रोडको एकै ओभरमा छ छक्का लगाएर आफ्नो आक्रामकता देखाएका युवराज सिंह पनि रङ्गशाला उत्रिन लाग्नुभएको हो । र यसरी ब्याट र बल समात्न लागेका क्रिकेटहरु ९० को दशकदेखि जारी दशकसम्मका रहेका छन् । क्रिकेट प्रशंसकका लागि जुन संयोग बिरलै भेटिने हो ।

त्यसैगरी, माइकल क्लार्क, माइक हस्सी, फोइब लिचफिल्ड, शेन वाट्सन, ब्राड हयाडिन, जस्टिन लैंगर दुई टोलीमा बाँडिनेछन् । फेब्रुअरी ८ मा हुने उक्त खेलमा महान क्रिकेट सचिन तेन्दुलकरले रिक्की पोन्टिङ्गको टोलीलाई प्रशिक्षण दिनुहुनेछ । अर्का महान क्रिकेटर कोर्टनी वाल्शले शेन वार्नको टोलीको प्रशिक्षक बन्ने निम्ता स्वीकार्नुभएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ