खेलकुदफुटबल

पेनाल्टी चुकेपछि ४-० हुनबाट चुक्यो आर्मी (भिडियो)

पेनाल्टी चुकेपछि ४-० हुनबाट चुक्यो आर्मी

७ माघ २०७६ काठमाडौं : ए डिभिजन लिग अन्तर्गत आज च्यासल युथ क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब बीच भएको खेलमा त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युवा क्लबलाई ३-० ले पराजित गर्यो ।

खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि खेल ०-० मै सिमित रहयो ।

तर दोस्रो हाफको ५८ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले हेद मार्फत गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । मिडफिल्डबाट सेसेहाङ आङदेम्बेले दिएको पासमा भरतले गोल गरेका हुन् ।

आर्मीका लागि दोश्रो गोल ७३ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ८४औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीका लागि महत्त्वपूर्ण तीन अंक सुनिश्चित गरे । पेनाल्टी क्षेत्रभित्र च्यासलका छिरिङ गुरुङले नवयुग श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीमा सन्तोषले गोल गरेका थिए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा आर्मीले अग्रता बढाउने अर्को अवसर पायो । तर नवयुगको पेनाल्टी प्रहार पोस्टमा लाग्दै गोलमा परिणत हुन सकेन । छिरिङले दिनेश हेन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो ।

यस जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले ७ खेलमा ५ जित, १ बराबरी र १ हारसँगै १६ अंक बनाएको छ ।