मनाङ मछिन्द्र झगडा प्रकरण : ६ खेलाडीलाइ ५ खेल सम्मको प्रतिबन्ध
मनाङ मछिन्द्र झगडा प्रकरण : ६ खेलाडीलाइ ५ खेल सम्मको प्रतिबन्ध
२४ पुस २०७६ काठमाडौं (विश्वघटना) : सहिद स्मारक ए डिभिजन लिगको गत सोमबार भएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबका खेलाडीबीच मैदानमै हानाहान भएको भएको घटनालाइ लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई प्रतिबन्ध र जरिवाना सहितको कारवाही गरेको छ ।
एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारि गर्दै खेल नियम बिपरित झगडाको कारण बनेको भन्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५ खेल को प्रतिबन्ध लगाएको छ। साथै जगजित र अशोकले जनही १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । त्यस्तै अन्य ४ खेलाडीलाई २-२ खेल प्रतिबन्ध लगाएको जनाएको छ ।
मनाङका रंजन विष्टलाई २ खेलको प्रतिबन्ध लगाइएको छ भने मछिन्द्रबाट दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाइ पनि २-२ खेलको प्रतिबन्ध लगाइएको छ । मनाङका अफिसियल शिव लामालाइ लिग अवाधिबर प्रतिबन्ध साथै १० हजार रुपैयाँ जरिवाना समेत गराउने निर्णय एन्फाको अनुशासन समितिले गरेको हो । झगडा सुरुभए लगत्तै उनले मैदान प्रवेश गरेर विपक्षी खेलाडीलाई अपशब्द बोलेका थिए ।
एन्फाले मनाङ मर्स्याङ्दि क्लब र मछिन्द्र क्लबलाई समेत ५०-५० हजार रुपैया जरिवाना तोकेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
के थियो घटना ?
सहिद स्मारक ए डिभिजन लिगको मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबका खेलाडीबीच सुरुवाती समयदेखि निक्कै नै रोमान्चक बनेको थियो। जारि खेलको अन्त्य भएको घोषणा रेफ्रीले गरे संगै दुवै टिमका खेलाडी कुटाकुटमा उत्रिएका थिए।
दुवै टिमले २-२ गोलको बराबरी खेलेको उक्त खेलमा रेफ्रीले खेल सकिएको अन्तिम सिठ्ठी बजाएलगत्तै मनाङका खेलाडी जगजित श्रेष्ठ र मच्छिन्द्रका खेलाडी दीपक राईबीच भनाभन भएको थियो।
झगडा सुरु भएलगत्तै बेञ्चमा रहेका मनाङका रञ्जन विष्ठ र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए। रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिए ।
त्यसपछि दुवै टिमका खेलाडीबीच ठुलै झगडा झन् बढ्यो। घम्साघम्सीमा टिमका अफियलहरू समेत संलग्न भएपछी मैदानमा खटिएका सुरक्षाकर्मीले झगडा छुट्याउनु परेको थियो ।