नयाँ वर्ष २०२० को अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना
नयाँ वर्ष २०२० को अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना
१६ पौष २०७६ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) देखि सुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । ग्रेगोरियन क्यालेन्डर र इस्वी संवत्को पात्रोनुसार हरेक वर्षको १ जनवरीलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रूपमा मनाइने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले देशवासीका नाममा शुभकामना सन्देश व्यक्त गरेका हुन् ।
‘१ वैशाखको दिन नयाँ वर्षका रूपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा इस्वी संवत्लाई हामी अंग्रेजी नयाँ वर्षका रूपमा मनाउँछौं,’ प्रधानमन्त्री ओलीले मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनेका छन् ।
भर्खरै बिदा भएको सन् २०१९ नेपालको राजनीतिक उपलब्धिको वर्षका रूपमा रहेको र यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महŒवको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको र विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गरेको सन्देशमा उल्लेख छ ।
जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गरेको भन्दै यस नयाँ वर्ष पनि थप उपलब्धिमूलक बनोस् भन्ने सन्देश प्रधानमन्त्री ओलीको छ ।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्न लागेको भन्दै सन् २०२० सम्पूर्ण देशवासीका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् ।