राजनिती

अध्यक्ष द्वयबीचकाे वार्ता सकियाे, शर्मा र पाैडेल पनि सहभागी

अध्यक्ष द्वयबीचकाे वार्ता सकियाे, शर्मा र पाैडेल पनि सहभागी

१४ असार २०७७ काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भइरहेको वार्ता सकिएको छ । करिब सवा दुई घण्टा लामो चलेको वार्तामा भएको छलफल र निस्कर्षबारे जानकारी गराइएको छैन बिहान साढे ११ बजेबाट शुरु भएको वार्ता सवा २ बजे सकिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी गराउनुभयो ।

अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको उहाँले बताउनुभयो । पार्टीभित्र असमझदारी बढेपछि त्यसलाई सल्टाउन दुई अध्यक्षबीच निर्णायक वार्ता भएको बुझिएको छ । तर बैठकमा भएको निर्णयबारेको जानकारी नगराइएपछि बैठकमा के भएको हो ? अन्यौल छ ।

दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो । शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ । सोअघि सहमतिमा पुग्नैपर्ने दबाव अध्यक्षहरूलाई छ ।

आज शुक्रबार बिहानदेखि दोस्रो पुस्ताका नेताहरूको पनि सक्रियता बढेको छ । दुई पक्षीय नेताहरू एकै ठाउँमा जम्मा भएर छलफल गरिरहनुभएको छ । दुई अध्यक्षको नेतृत्वमा पार्टी एकता गरिएकाले अहिले देखिएको समस्याको समाधान पनि दुई अध्यक्षले दिनुपर्ने सुझाव दोस्रो पुस्ताका नेताहरूको छ ।