राजनिती

रास्ट्रपति भेट्न सितल निवास पुगे प्रधानमन्त्री ओली, सबै मन्त्रीहरुलाई ७ बजे बालुवाटार बोलाइयो

रास्ट्रपति भेट्न सितल निवास पुगे प्रधानमन्त्री ओली, सबै मन्त्रीहरुलाई ७ बजे बालुवाटार बोलाइयो

२० असार २०७७ काठमाडौँ : पछिल्लो समय देखिएको पार्टीभित्रको आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् भने अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ। यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन । छलफलमा राज्यमन्त्रीहरुलाई समेत बोलाइएको छ । मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्रीहरु उपस्थित हुँदैनन् ।

दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कुराकानी भइरहेको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले बताए । कुराकानी के विषयमा चलिरहेको छ भने उनले खुलाएनन् ।

बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।

आफ्नै पार्टी नेकपाका नेताहरुले आफ्नो राजीनामा मागिरहेको र पार्टी बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरुलाई बोलाइएको हो । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले स्थायी कमिटी बैठकमा राजीनामा मागेपछि प्रधानमन्त्री ओली बैठकमै जान छोडेका छन् । शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।