अछाममा एकै दिन २०९ जनामा कोरोना सङ्क्रमण पुस्टि
अछाममा एकै दिन २०९ जनामा कोरोना सङ्क्रमण पुस्टि
१९ असार २०७७ काठमाडौँ : कोरोना सङ्क्रमणको आशङ्कामा थ्रोट स्वाब परीक्षणका क्रममा शुक्रबार अछामका २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अछामका विभिन्न स्थानबाट थ्रोट स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला टेकु, पाटन अस्पताल र सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमण परीक्षण गरिएकोमा बिहान, दिउसो र बेलुकी गरेर तीन चरणमा प्राप्त विवरणमा एकै दिन ठूलो सङ्ख्यामा सङ्क्रमित पुष्टि पाइएको छ ।
संक्रमित हुनेमा साँफेबगर नगरपालिकामा ५२ जना, चौरपाटी गाउँपालिका २४ जना, ढकारी गाउँपालिकामा २७ जना, मंगलसेन नगरपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिका १९ जना, मेल्लेख गाउँपालिका १५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा २९ जना, कमलबजार सात जना र पञ्चदेवल विनायक नगरपालिकामा छ जना नयाँ संक्रमित पुष्टि भएको सूचना अधिकारी जोशीको भनाइ छ । कोरोना
सङ्क्रमण पुष्टि भएको संख्या आउने क्रम जारी रहेकोले विवरण भिडान भइरहेको बताइएको छ । संक्रमित पुष्टि भएर स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा निर्माण गरिएका आइसोलेशनमा राख्ने काम भइरहेको कार्यालयको भनाइ छ । स्वास्थ्यमा प्रतिकुलता आएमा स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण उपचार गर्ने तोकिएको जिल्ला अस्पतालमा ल्याएर उपचार गरिने बताइएको छ ।
नयाँ थपिएका एकसय १५ जनासहित अछाममा पाँचसय २१ जनामा कोरोना संक्रमितको संख्या पुगेको छ । कोरोना संक्रमित भएर उपचारपछि अछाममा ४५ जना व्यक्ति कोरोना सङ्क्रमण जितेर घर गइसकेका छन् भने सातसय ९३ जनाको स्वाब परिक्षणको क्रममा रहेका छन् । संक्रमित हुनेमा अधिकाँस भारतबाट आएर क्वारेन्टाइन बसेका व्यक्तिहरु रहेको बताइएको छ ।