बालुवाटारमा जारी ओली-दाहाल वार्ता सकियो, बुधबार स्थायी कमिटी बैठक बस्ने
ओली-दाहाल वार्ता सकियो, बुधबार स्थायी कमिटी बैठक बस्ने
२३ असार २०७७ काठमाडौँ : पार्टीभित्रको आन्तरिक द्वन्द मिलाउन लगातार छलफलमा जुटेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको मंगलबारको वार्ता सकिएको छ । दुई अध्यक्षबीच मंगलबार बालुवाटारमा २ घण्टाभन्दा बढी एक्लाएक्लै वार्ता भए पनि ठोस सहमति भने अझै हुन नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबार बस्ने भएको छ । बैठक बस्नुअघि फेरि दुई अध्यक्षबीच पनि छलफल हुने भएको छ ।
सहमतिका लागि भन्दै ओली र दाहालबीच सोमबार पनि डेढ घण्टा वान टु वान वार्ता भएको थियो । आइतबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो ।
असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टी फुटको संघारमा पुगेको भन्दै बैठक रोकेर दुई अध्यक्ष वान टु वान वार्तामा बसेका हुन् ।