ला लिगामा ३ महिनापछि सेभिला र बेटिसको डर्बी खेल आज हुँदै
ला लिगामा ३ महिनापछि सेभिला र बेटिसको डर्बी खेल आज हुँदै
२९ जेठ २०७७ काठमाडौँ : स्पानिस ला लिगाको जारी सिजन रोकिनुअघि गत ९ मार्चमा रियल मड्रिड र रियल बेटिसबीच अन्तिम खेल भएको थियो । कोरोना भाइरस महामारीका कारण त्यसपछि लिग स्थगित भयो ।
तीन महिनापछि ला लिगा फेरि सुरु हुँदैछ र बेटिसले नै पहिलो खेल खेल्दैछ । सुरक्षा र स्वास्थ्यका विभिन्न उपायहरु अपनाउँदै ला लिगा क्लोज डोरमा फेरि मैदान फर्कँदैछ ।
जसमा बेटिसले सेभिलासँग डर्बी खेल खेल्दैछ । उक्त खेल नेपाली समयअनुसार राति पौने २ बजे सेभियाको घरेलु मैदानमा शुरु हुनेछ । ला लिगा मैदान फर्काउनका लागि विभिन्न चरणहरुमा क्लब खेलाडी स्टापले हेल्थ प्रोटकल पालना गरेका छन् ।
ला लिगा फर्किएपछि बार्सिलोना र रियल मड्रिडबीचको उपाधि होड फेरि रोमाञ्चक हुने भएको छ । २७ चरणका खेल सकिँदा बार्सिलोना २ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । बार्सिलोनाको ५८ र रियलको ५६ अंक छ । सेभिला ४७ अंकसहित तेस्रो स्थानमा छ । यस्तै ३३ अंक जोडेको बेटिस १२औं स्थानमा छ ।
स्पेनमा दोस्रो डिभिजनको फुटबल भने बुधबारदेखि नै शुरु भइसकेको छ । रायो भालेकानो र अल्बासेटेबीचको दोस्रो हाफको खेल बुधबार भालेकानोको घरेलु मैदानमा भएको हो ।
यी दुई टोली बीचको ओरिजिन म्याच २०१९ डिसेम्बरमा भएको थियो । तर भालेकानोको फ्यानले अल्बासेटेका रोमन जोजुलाई नाजी भनेपछि दोस्रो हाफको खेल रोकिएको थियो । त्यसबेला खेल गोलरहित बराबरी भएको थियो ।
बुधबार भएको बाँकी खेलमा एक गोल गर्दै भालेकानोले ३ अंक जोडेको छ । भालेकानोका लागि खेलको ६१औं मिनेटमा लुइस एडभिनकुलाले गोल गरेका थिए ।
१७९ दिनपछि बाँकी रहेको दोस्रो हाफ खेलाएर खेल सकाएको हो ।