Breakingअन्तरास्ट्रिय

हिंसा भड्किएपछि अमेरिकामा सेना परिचालन गर्ने ट्रम्पको तयारी

हिंसा भड्किएपछि अमेरिकामा सेना परिचालन गर्ने ट्रम्पको तयारी

२० जेठ २०७७ काठमाडौँ : अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ ।

वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ टियर ग्याँस र रबरको गोलीको प्रयोग भएको छ । न्युयोर्कको फिफ्त एभेन्युमा लुटपाट भएको छ ।

अमेरिकाको कतिपय शहरमा लुटपाट हुनथालेपछि कफ्र्यु लगाइएको छ । हिंसा भड्किएपछि अमेरिकाका कतिपय राज्यहरुका गर्भनरले स्थिति नियन्त्रणमा लिन कठिन भएको बताउन थालेका छन् । कतिपय राज्यहरुमा प्रदर्शनकारी र प्रहरीबीच गोलीहानाहान भएको छ । केन्टुकी राज्यमा प्रहरी र प्रदर्शनकारीबीच गोली हानाहान हुँदा एकजनाको ज्यान गएको छ ।

हिंसा भड्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक परिचालन गर्न लागेको जानकारी दिएका छन् । उनले नागरिक सुव्यवस्था कायम राख्न भन्दै सेना परिचालन सम्म गर्ने भनेका हुन् । ट्रम्पले दंगा, लुटपाट, तोडफोड र सम्पत्ति विध्वंस हुन थालेको भन्दै रोक्न हजारौं हतियारले सुसज्जित सैनिक परिचालन गर्न लागेको बताएका हुन् । उनले प्रदर्शनमा आएकाहरुलाई अराजक भनेका छन् ।

४६ वर्षीय काला जातिका जर्ज फ्लोयडको निर्ममतापूर्वक प्रहरीले गत हप्ताको सोमबार साँझ हत्या गरेको तस्बिर सार्वजनिक भएपछि विरोध हिंसामा परिणत भएको हो । मिनिपोलिस प्रहरीले घुँडाले घाँटीमा थिच्दा जर्जले आफूलाई स्वास फेर्न कठिन भएको भन्दै छाडिदिन अनुनय विनय गरेका थिए । तर, उनी मारिएका थिए ।

जर्जलाई घाँटी थिचेर मार्ने प्रहरीमाथि कानुनी कारबाही अगाडि बढाइएको छ । तर, अमेरिकामा रङ्गभेदविरुद्धको प्रदर्शन निकै चर्को हुनथालेको छ । यसलाई सम्हाल्न अमेरिकालाई कठिन हुनथालेको छ ।

अमेरिका कोरोना भाइरसको संकटसँग जुधिरहँदा अर्को संकट आइसकेको छ । यसको सामना गर्न राष्ट्रपति ट्रम्पलाई हम्मे पर्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *