क्रिकेटखेलकुद

नेपालमा क्रिकेट लिग २ सिरिज खेल्ने अमेरिकी टोलीको घोषणा

नेपालमा क्रिकेट लिग २ सिरिज खेल्ने अमेरिकी टोलीको घोषणा

७ माघ २०७६ काठमाडौं : विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालमा माघमा हुन लागेको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाले टोली घोषणा गरेको छ । अमेरिकाले शौरभ नेत्रभाल्करको कप्तानीमा सोमबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गतको यो सिरिज मा नेपाल, अमेरिका र ओमान रहनेछन। सिरिज यहि माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

अमेरिकाले नेपाल आउनुअघि भारतको मुम्बईमा तयारीसमेत गर्ने भएको छ । जनवरी २४ मा मुम्बई आइपुग्ने अमेरिकी टिमले काठमाडौंको कन्डिसनमा अभ्यस्त हुनका लागि अमेरिकाले मुम्बईका तयारी क्याम्प राख्न लागेको जनाएको छ । जहाँ अमेरिकाले मुम्बई क्रिकेट एसोसिएसन एघारसँग ३ अभ्यास खेलसमेत खेल्नेछ ।

खेल मुम्बईको मान्भलीस्थित सचिन तेन्दुरलकर जिमखाना ग्राउण्डमा हुनेछ ।

अहिलेसम्म लिग २ मा दुई सिरिज खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । कुल ८ खेल खेल्दा अमेरिकाले ६ खेल जितेको थियो ।

नेपाली टिम भने अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । प्रशिक्षणमा २४ खेलाडी छन् । अब त्यसैबाट अन्तिम टोली छनोट गरिनेछ ।

अमेरिकी टिम

शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।