मृत्यु भएकी संक्रमित महिलाकाे शिशुमा देखिएन कोरोना संक्रमण
मृत्यु भएकी संक्रमित महिलाकाे शिशुमा देखिएन कोरोना संक्रमण
५ जेठ २०७७ काभ्रे : कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीय सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।
सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाइएको थियो ।
नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाह्रविसे–९ निवासी ती सुत्केरीको मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएका आरडीटी र पीसीआर परीक्षणका रिपोर्ट शनिबार पोजेटिभ आएको थियो । बिहिबारदेखि अस्पतालको गार्ड रुममा अलग्गै राखिएका शिशुसहित परिवारका सदस्य मृतकको नतिजा पोजेटिभ आएपछि धुलिखेलस्थित क्वारेन्टाइनमा राख्न लागिएकोमा प्रशासनले आइसोलेसनमा राख्न निर्देशन दिएको थियो ।