कोरोना माहामारी नरोकिएसम्म पारिश्रमिक नलिने प्रम ओलीको घोषणा
कोरोना माहामारी नरोकिएसम्म पारिश्रमिक नलिने प्रम ओलीको घोषणा
१ बैशाख २०७७ काठमाडौं : विश्वभर कोरोना संक्रमणको माहामारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफुले पारिश्रमिक नलिने घोषणा गर्नु भएको छ । साथै आफ्नो पारिश्रमिक बापतको रकम कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्री ओलीले गरेका छन् ।
सोमबार बिहान नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो निर्णय गरेको जानकारी दिएका हुन् ।
नेपालीहरु पहिले देखिने सहयोगी रहेको र आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने परम्परामा हुर्कियेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’
उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन् ।