Breakingदेशराजनितीसमाचार

राहतको विषयमा झडप, १९ घाइते

राहतको विषयमा झडप, १९ घाइते

१९ चैत २०७६ वीरगञ्ज : वीरगञ्ज महानगरपालिका-१९ स्थित बरेवा गाउँमा लकडाउनले समस्यमा परेका परिवारको लगत संकलन गर्ने विषयमा दुईपक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार लगत संकलनको विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा महिला तथा बालबालिकासहित १९ जना घाइते भएका छन् ।

घाइते मध्ये १६ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । झडपमा ३० वर्षीय विनोद यादव, ६१ वर्षीय शम्भु प्रसाद यादव, ४० वर्षीय गर्भु यादव, १५ वर्षीया रञ्जिता यादव, १५ वर्षकै देवेन्द्र यादव, १८ वर्षको प्रेम सागर यादव, १० वर्षीय विवेक यादव, १२ वर्षीय श्याम यादव, १७ वर्षीय रविन्द्र प्रसाद यादव, ९ वर्षिीय राज यादव, ५५ वर्षीय प्रभुप्रसाद यादव, ४२ वर्षीय उदयप्रसाद यादव, २१ वर्षीय विक्की यादव, ३२ वर्षीय किशोरीलाल यादव, १८ वर्षीय शत्रुधनप्रसाद यादव, ३६ वर्षीय जियालाल प्रसाद घाइते भएका हुन् ।

घाइते मध्ये केहीको टाउकोमा चोट लागेको छ भने केहीको हात भाँचिएको छ । कतिपयको नाकमा, हात खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ ।

स्थानीयका अनुसार महानगरपालिकाले वडा नम्बर १९ मा राहत सामग्री बाँड्नका लागि १ लाख २५ हजार रुपैयाँ पठाउने निर्णय गरेको थियो । आवश्यक भएकालाई राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा गाउँ स्तरमा लोटन महतो र विन्दवासिनीमा महम्मद समिमको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा समितिलाई दिइएको थियो । बुधबार बिहान बरेवा गाँउमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप भएको स्थानीयले बताएका छन् ।

समितिका सदस्य प्रभु यादव र स्थानीय उपेन्द्र यादव पक्षबीच विवाद हुँदा दुवै पक्षले एक अर्का माथि हातपात गरेका थिए । उपेन्द्र पक्षले लगत संकलनका क्रममा समितिका सदस्यले पक्षपात गरेपछि विरोध गरेको दाबी गरेका छन् ।

राहत विरतण गर्न लगत संकलन गर्ने क्रममा एक अर्काेलाई विभिन्न आरोप लगाउँदै झडप गरेको वडा अध्यक्ष सन्तोष तिवारीले जानकारी दिए । ‘लडक डाउनमा को वास्तवमै समस्यामा छन्, कसलाई राहत दिने, कसलाई आवश्यक छैन भनेर छनौट गर्न दुईवटै गाउँमा समिति बनाएका छौं ।’ तिवारीले भने, ‘सरकारले दिने राहत भनेपछि सबैको आश हुन्छ, तर वडामा दुई हजार घरधुरी छ, सबैलाई दिन सकिँदैन । के दिने कसरी दिने कसलाई दिने छलफल कै क्रममा झगडा गरेछन् ।’

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ४/५ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।