देशराजनितीसमाज

प्रदेश २ का मुख्यमन्त्री राउतलाइ “महामुर्ख”को उपाधि

प्रदेश २ का मुख्यमन्त्री राउतलाइ “महामुर्ख”को उपाधि

२६ फागुन २०७६ जनकपुरधाम : होली पर्वको अवसर पारेर जनकपुरधाममा मिथिला नाट्य कला परिषदले २३ वर्षदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन जनकपुरधाममा सोमबार सम्पन्न गरेको छ ।

विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको हास्य व्यंगात्मक उक्त सम्मेलनमा एकजना विशिष्ट व्यक्तिलाई प्रदान गर्दै आएको महामुर्खको उपाधि यस पटक प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरिएको छ । मिथिला नाट्य कला परिषद जनकपुरधामका अध्यक्ष परमेश झाले फुल र तरुलको माला लगाएर मुख्यमन्त्रीलाई सम्मान गरी उक्त उपाधिको प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

त्यसैगरी, उक्त सम्मेलनमा जनकपुर क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरुलाई पटमुर्ख, मुर्खाधिराज, डपौर शंख जस्ता एक दर्जन उपाधिहरु प्रदान गरी सम्मान गरिएको छ । उपाधी प्राप्त गर्नेहरुलाई परिषदका अन्य पदाअधिकारीहरुले फुलको माला र विभिन्न प्रकारका तरकारीको माला प्रदान गरी सम्मान र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

रङ्ग र अविरको पर्वको रुपमा रहेको होली पर्वको उपलक्ष्यमा मिथिला नाट्य कलापरिषदले वर्षेनी रुपमा नै संस्कृतिको संरक्षणका लागि होरी महोत्सव तथा महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।
उपाधिग्रहणपछि कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मिथिला नाट्य कलापरिषद् प्रदेश तथा देशकै संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै होली संयमित रुपमा मनाउन सबैमा आग्रह गर्नु भयो ।

मिथिला नाट्य कलापरिषद्का अध्यक्ष परमेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं.२ का प्रदेशसभा सदस्यहरु मनिष सुमन, रामआशिष यादव, परमेश्वर साहसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । सम्मेलनमा होली सम्बन्धि गीतहरु, जोगिरा, हाँस तथा परिहाँसहरुको झाँकी, मिथिला नाट्य कलापरिषदका कलाकार तथा अन्य सहभागीहरुले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम हेर्न हजारौंको संख्यामा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।