खेलकुदफुटबल

हिमालयन शेर्पासँग मछिन्द्रको हारसंगै आर्मी शिर्ष स्थानमा

हिमालयन शेर्पासँग मछिन्द्रको हारसंगै आर्मी शिर्ष स्थानमा

३ माघ २०७६ काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको सातौ चरणको पहिलो खेलमा मछिन्द्र क्लबलाई हराउदै हिमालयन शेर्पाले जित दर्ता गरेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्रमाथि २-० गोल अन्तरले जित हात पारेको हो । लिगमा पहिलो हारसँगै मछिन्द्र दोस्रो स्थानमा झरेको छ। यता लिगकै पहिलो जित हात पर्दै हिमालयन शेर्पा रेलिगेशन बाट जोगिने क्रममा नवौं स्थानमा उक्लिएको छ ।

वर्षाका कारण दशरथ रंगशालामा हुने भनिएको खेल एन्फा कम्प्लेक्समा खेलाईएको थियो । खेलमा विनोद गुरुङले हानेको बलमा मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गरे संगै शिमालयन शेर्पाले पहिलो मिनेटमै अग्रता लिएको थियो ।

खेलको १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन र हिमालयन शेर्पा विजयी भयो ।

जितसंगै हिमालयन शेर्पाले ७ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लिएको नेपाल आर्मीको समान १३ अंक भए पनि मछिन्द्र गोलअन्तरमा आधारमा दोस्रो स्थानमा झरेको हो ।

आर्मीले मछिन्द्रभन्दा एक खेल कम खेलेको छ ।