समाचारसमाज

एटीएम मेसिन फोड्दा–फोड्दै पुतलीसडकबाट एक पक्राउ

एटीएम मेसिन फोड्दा–फोड्दै पुतलीसडकबाट एक पक्राउ

२६ पुस २०७६ काठमाडौं : एटीएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट एकजना युवकलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–६ का २४ वर्षीय तिलक खड्का हुन् । प्रहरीले उनलाई शनिबार बिहान माच्छापुच्छ्रे बैंकको एटीएम फोड्दै गर्दा नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फोडिरहँदा उनी समातिएको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।