ए डिभिजन लिगमा आज दुई खेल हुँदै, प्रतिवद्ध अन्जनको पुनरागमन
ए डिभिजन लिगमा आज दुई खेल हुँदै, प्रतिवद्ध अन्जनको पुनरागमन
२१ पौष २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुने भएको छ । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच दिउँसो १२ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यस्तै, दोस्रो खेल मछिन्द्र फुटबल क्लब र उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो 3 बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतिवद्ध अन्जन बिष्ट आज लिगमा पुनरागमन गर्दै छन्। ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन प्रतिबन्ध फुकुवा पछि पहिलो पटक प्रतिष्पर्धा गर्न लागेका हुन्।
चौथो चरणको समाप्तीसम्म मनाङ्ग, मच्छिन्द्र र जावलाखेल अपराजित छन् । साविक विजेता मनाङ्ग १० अंकसहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबको समान ९–९ अंक छ। चौथो स्थानको जावलाखेलको ८ अंक हुँदा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबको समान ७ अंक छ। लिगमा अहिलेसम्म सरस्वती युथ क्लबले मात्र अंकको खाता खोलेको छैन ।
लिगमा १४ क्लबको सहभागिता रहेको छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ । मनाङ–मर्स्याङ्दी क्लब लिगको साविक विजेता हो । गत वर्ष नन रेलिगेसन लिग गरेको एन्फाले यस सिजन पुछारको एक क्लब घटुवा हुने प्रावधान राखेको छ ।