प्रचण्डको गढ चितवनका तीनवटा वडामा नेकपाको पत्ता साफ
प्रचण्डको गढ चितवनका तीनवटा वडामा नेकपाको पत्ता साफ
१५ मंसिर २०७६ काठमाडौं : मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत नेकपाको गढ मानिएको प्रचण्डको गृह जिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमाले एक्लैले जितेका वडामा समेत माओवादी र एमाले एक हुँदा समेत कांग्रेसले उछिनेको हो ।
उपनिर्वाचन अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । हमालले ३१८३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेकपाका भक्तराज ले २८७५ मत प्राप्त गरे । यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी प्लानलसहित विजयी भएका थिए । उनको गत असोजमा क्यान्सर रोग लागेका कारणले निधन भएको थियो । २०७४ मा भएको निर्वाचनमा अमृत हमाललाई गुरुङले ६४ मतले पराजित गरेका थिए भने, अन्य सदस्यमा नेकपाका उम्मेदवारहरु फराकिलो मतले विजयी भएका थिए ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् ।
सवारी दुर्घटनामा कांग्रेसबाट निर्वाचित दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् ।
खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराइन् नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।
कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिका नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । पार्टी एकीकरणपछिको अवस्थामा पनि चितवनमा नेकपा तत्कालीन एमालेभन्दा पनि कमजोर देखिएको छ ।
