अन्तरास्ट्रिय

जापानका पूर्व प्रधानमन्त्री यासुहिरोको १०१ वर्षमा निधन

जापानका पूर्व प्रधानमन्त्री यासुहिरोको १०१ वर्षमा निधन

१५ मङ्सिर २०७६ टोकियो: जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । नाकासोने सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहनु भएको थियो।

नाकासोनेले आफ्नो कार्यकालमा अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गर्नु भएको थियो ।साथै रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याउनु भएको थियो । दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गर्नुभएका नाकासोनेले जापानका लागि अमेरिका सदैब अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्नुहुन्थ्यो । जापानको माथिल्लो सदनका सदस्य समेत रहनुभएका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिनुभयो । तर उहाँले मृत्युको कारणका बारेमा विस्तृत केही उल्लेख गर्नुभएको छैन ।

पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाउनु भएको थियो ।
अप्रत्यक्ष कर प्रणालीमा व्यापक वृद्धि गर्ने योजना अघि सारेका कारण सन् १९८७ मा उहाँको पार्टी संसदीय निर्वाचनमा पराजित भएको थियो ।