राष्ट्रिय स्वाभिमान, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन मेरो सधै दृढ अडान छ : प्रधानमन्त्री
राष्ट्रिय स्वाभिमान, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन मेरो सधै दृढ अडान छ : प्रधानमन्त्री
२६ असार २०७७ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनु भएको छ ।
प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो,प्राकृतिक विपद् र कोरोनानियन्त्रण सम्बन्धमा विहीबार गर्नुभएको सम्बोधनमा सो कुरा उल्लेख गुर्नभएको हो ।
प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यसकिसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो ।”
सम्बोधनमा अगाडि भन्नु भएको छ, “पार्टीभित्र हुनेयस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।”
प्रधानमन्त्रीले सम्बोधनमा अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ भन्दै भन्नुभएको छ, “म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।”
प्रधानमन्त्रीले अगाडि भन्नुभयो “यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन ।मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।”
