राजनितीसमाचार

प्रतिपक्षलाइ थाहै नदिई संसद अधिवेशन अन्त्य गर्नु कांग्रेसलाइ मान्य छैन

प्रतिपक्षलाइ थाहै नदिई संसद अधिवेशन अन्त्य गर्नु कांग्रेसलाइ मान्य छैन

१८ असार २०७७ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु आपत्तिजनक भएको बताएका हुन् । ‘अधिवेशन आहृवान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ उनले भनेका छन् ।

अधिवेशन अन्त्य गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग कुनै परामर्श नभएको मात्र होइन, पूर्व सूचनासमेत नदिइएको कांग्रेसले बताएको छ ।

कोरोना भाइरसको महामारीप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गरेर परिमार्जित रणनीति साथ अघि बढ्नुपर्ने बेला सरकारले हठात अधिवेशन अन्त्य गरेको कांग्रेसको आरोप छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गरेको छ, जनताको जिवन प्रधान कि सत्ताको राजनीति ?’

साथै संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा कांग्रेसको असहमति रहेको प्रवक्ता शर्माले बताएका छन् ।