समाचार

नेपालमा आज खण्डग्रास सूर्यग्रहण, के गर्नु हुन्छ के गर्नु हुदैन ?

नेपालमा आज खण्डग्रास सूर्यग्रहण, के गर्नु हुन्छ के गर्नु हुदैन ?

१ असार २०७७ काठमाडौं : नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ ।

मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।

यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।

कुन ठाउँमा कति बजे सुरु हुन्छ ग्रहण ?

बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने छ ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनत कुमार शर्माका अनुसार जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिन्छ ।

अब ४४ वर्षपछि मात्रै देखिनेछ यस्तो ग्रहण

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने आचार्य बताउँछन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन । तर सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरूका लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरू सूर्य, चन्द्र र पृथ्वीको सही दुरी मापन गर्न ग्रहणको उपयोग गर्छन् ।

सूर्य ग्रहणको समयमा के गर्ने र के नगर्ने?

घर भित्र रहनुहोस्।

गर्भवती महिलाहरूले सतर्क रहनुपर्छ ।

ग्रहणको समयमा सूर्य किरणहरू प्रवेश गर्नबाट रोक्न ढोका झ्यालमा पर्दा राख्नुहोस्।

कुश वा तुलसी पातहरु ग्रहण सुरु हुनुभन्दा पहिले खाद्यान्न र पानीको भाँडामा राख्नुहोस ।

महा मृत्युंजय मन्त्र जप गर्नुहोस्।

ग्रहण सकिएपछि नुहाउनुहोस्।

घर सफा गर्नुहोस् र गंगाजलले यसलाई शुद्ध पार्नुहोस्।

नाङ्गो आँखाले घाममा नहेर्नुहोस्।

गर्भवती महिलाहरूले यस अवधिमा सुत्न वा कुनै गतिविधि गर्नु हुँदैन।

सुतक अवधिमा खाना खाने वा पानी पिउने नगर्नुहोस्।

अघिल्लो दिनको बाँकी खाना नखानुहोस्

कुनै नयाँ शुभकार्य जस्तै नयाँ प्रोजेक्टमा हस्ताक्षर गर्ने वा ग्रहणको समयमा नयाँ उद्यम शुरू गर्ने नगर्नुहोस् ।

नोट: लेखमा उल्लिखित सुझाव र सुझावहरू ज्योतिषीय आधारलाई आधार मानि सामान्य जानकारी उद्देश्यका लागि मात्र हुन् र यो आधिकारीक सल्लाहको रूपमा प्रयोग गरिनु हुँदैन।