चीनले भन्यो – भारतीय सैनिकलाई नियन्त्रणमा लिएको होइन
चीनले भन्यो – भारतीय सैनिकलाई नियन्त्रणमा लिएको होइन
६ असार २०७७ काठमाडौँ : पछिल्लो समय उत्कर्षमा पुगेको चीन भारत बीचको बिबादलाइ लिएर चीनले विवादास्पद गलवान क्षेत्रमा भएको हिंसात्मक भिडन्तका क्रममा कुनै पनि भारतीय सैनिकलाई कब्जामा नलिएको जनाएको छ । चीनले बिहीबार १० जना भारतीय सैनिकहरूलाई मुक्त गरेको समाचारहरू भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएपछि चीनको त्यस्तो दाबीको खण्डन गरेको हो । भारत–चीन सीमा क्षेत्र गलवानमा गत सोमबार दुई देशका सैनिकबीच करिब ५ घन्टा भिडन्त भएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिझाङले शुक्रबार भनेका छन्, ‘चीनले कुनै पनि भारतीय सैनिकलाई कब्जामा लिएको छैन ।’ भारतीय सञ्चारमाध्यमहरूले एक लेफ्टिनेन्ट कर्नेल र तीन जना मेजरसहित १० सैनिकहरूलाई चिनियाँ सेनाले मुक्त गरेको समाचार प्रकाशन गरेका थिए ।
भारत सरकारले आफ्ना सबै सैनिकहरू सम्पर्कमै रहेका जनाएको छ । गत सोमबार भएको भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो । कम्तीमा ७६ भारतीय सैनिक घाइते भएका भारतको भनाइ छ ।
चीनले भिडन्तका क्रममा आफ्नोतर्फ भएको क्षतिबारे हालसम्म केही उल्लेख गरेको छैन । तर भारतले घटनामा दुवै पक्षतर्फ क्षति पुगेको दाबी गर्दै आएको छ । घटनाबारे दुवै पक्षले एकअर्कालाई जिम्मेवार भएको आरोप लगाउँदै आएका छन् ।
