फुटबल

बार्सिलोना सेभियासँग बराबरीमा रोकिदा रियललाई अवसर

बार्सिलोना सेभियासँग बराबरीमा रोकिदा रियललाई अवसर

६ असार २०७७ काठमाडौं : स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना तेस्रो स्थानको सेभियासँग बराबरीमा रोकिएको छ । गएराति सेभियाको मैदानमा भएको खेलमा बार्सिलोना र सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

बराबरीले दुवै टिमलाई घाटा लागेको छ भने दोस्रो स्थानको रियललाई फाइदा पुगेको छ । बराबरीपछि बार्सिलोनाले रियलसँग ३ अंकको अग्रता मात्र बनाएको छ । सेभियालाई पराजित गरेको भए बार्सिलोनाले ५ अंकको अग्रता बनाउथ्यो ।

बार्सिलोनाका कप्तान लिओनल मेसीले पनि सेभियाविरुद्ध गोल गर्न नसक्दा करियरको ७०० औँ गोलका लागि अझै कुर्नुपर्ने भएको छ । बार्सिलोनाले अर्को खेल मंगलबार एथ्लेटिक विल्वाओसँग खेल्नेछ ।

रियल मड्रिडले अब रियल सोसिडाडसँग खेल्दैछ । उक्त खेल जितेमा रियलले बार्सिलोनासँग अंक बराबरी गर्नेछ । अंक बराबरी भए पनि हेड टु हेडमा अगाडि रहेकाले त्यस्तो अवस्थामा रियल शीर्ष स्थानमा पुग्नेछ ।

३० खेलबाट बार्सिलोनाको ६५ अंक छ । एक खेल कम खेलेको रियल ६२ अंकसहित दोस्रो स्थानमा छ भने ३० खेलबाट ५२ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ ।