नेपाल भारत सीमा झडप : सशस्त्र प्रहरीको गोली लागेका भारतीयको मृत्यु
नेपाल भारत सीमा झडप : सशस्त्र प्रहरीको गोली लागेका भारतीयको मृत्यु
३१ जेठ २०७७ जनकपुरधाम : सर्लाहीको नारायणपुरस्थित नेपाल-भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच शुक्रबार भएको झडपमा गोली लागेर घाइते भएका एकजना भारतीयको मृत्यु भएको छ । त्यस्तै घाइते अन्य दुईजनाको उपचार जारी छ भने एक जनाको अवस्था सामान्य छ ।
लकडाउन कार्यान्वयनका लागि सिमा क्षेत्रमा सरकारले खटाएको सशस्त्र प्रहरीको गोलि लागेर नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको हतियार खोस्ने एक भारतीयको मृत्यु भएको हो ।
सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा पनि सशस्त्र प्रहरीको फरवार्ड बेसमा शुक्रबार बिहान झडप भएको हो । बिहान ९ बजेतिर ३ जना भारतीय नागरिक नेपालतर्फ प्रवेश गरेका थिए । सशस्त्र प्रहरीले रोक्दा एक जनाले थप्पड हिर्काएर भारततर्फ गएको सशस्त्र प्रहरीका एआईजीपी नारायणबाबु थापा बताउँछन् । केही क्षेत्रमा ठूलो संख्यामा मानिसहरु आएर ढुंगामुढा गरेका थिए ।
उनीहरुले हतियार खोस्ने प्रयास गरेका छन् । एआईजीपी थापा भन्छन्, ‘हाम्रा सुरक्षाकर्मीहरुले १० राउण्ड हवाई फायर गरे । तैपनि ढुंगामुडा गर्न नछाडेपछि हतियारको सुरक्षा र आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो ।’
सशस्त्र प्रहरीले ५ राउण्ड गोली चलाएको थियो । गोली लागेर एक जननको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका तीन जना पनि गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्लामै उपचार भइरहेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए ।
घटना दुःखद भएको एआईजीपी थापाले बताए । ‘उनीहरु बलजफ्ती प्रवेश गर्न नखोजेको भए यस्तो घट्ना हुँदैनथ्यो’ उनले भने, ‘अहिले स्थिति सामान्य बन्दैछ ।’
नारायणपुरमा थप सुरक्षाकर्मी पठाइएको छ भने दुबै देशका सुरक्षा अधिकारीहरुबीच सम्वाद चलिरहेको छ ।
तर तराई मधेसका जिल्लाहरुमा भारतीय नागरिकहरुले पटकपटक बलजफ्ती नेपाल प्रवेश गर्ने प्रयास गरेको पाइएको छ । १८ जेठमा सर्लाहीकै विष्णु गाउँपालिका-२ पकडी हुँदै भारतीय नागरिक बलजफ्ती नेपाल प्रवेश गर्न खोजेका थिए । उनलाई रोक्दा नजिकैको गाउँबाट ५० जना जतिलाई बोलाएर आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीलाई हवाई फायर गर्नुपरेको थियो ।
बाराको सुर्वण गाउँपालिका ३ स्थित कबही गोठ हुँदै दुई जना भारतीय नेपाल आउन खोजे । तर, उनीहरुलाई रोक्दा भारततर्फबाट मानिसहरु बोलाएर नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा नै आक्रमण गर्न लगाए । २५ बैशाखमा भएको यो घटनामा पनि सशस्त्र प्रहरीलाई हवाई फायर गर्नुपरेको थियो । त्यसअघि बाराकै विश्रामपुर ४ बलिरामपुरमा खेतमा गएका स्थानीयलाई भारतीय सुरक्षाफौजले रोक्दा तनाव भएको थियो ।