Breakingदेशसमाचार

भारतीय समूहद्वारा प्रहरीको हतियार खोस्ने प्रयास, हवाई फायर पछि भागाभाग

भारतीय समूहद्वारा प्रहरीको हतियार खोस्ने प्रयास, हवाई फायर पछि भागाभाग

१८ जेठ २०७७ काठमाडौं : नेपाली भूमिमा भारतीय दादागिरीका घटना बारम्बार दोहिरिरहेका बेला सीमामा रहेका भारतीयहरुले समेत नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न थालेका छन्। भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार भारतीय तस्कहरुले नेपालतर्फ सामान लिएर आउन लागेका थिए । उनीहरुलाई सीमामा खटिएको सशस्त्रको टोलीले रोक्यो ।

त्यसपछि उनीहरु फर्किए र ठूलो समूहमा भारतीय नागरिकहरुलाई ल्याएर आए । ‘आज विहान करिब ६ बजेतिर त्यो समूहले हाम्रा सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजेपछि हवाई फायर गरेर भगाइयो,’ प्रमुख जिल्ला अधिकारी जीसीले भने ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको उनले जानकारी दिए ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।