Breakingदेशराजनितीसमाचारसमाज

आलम प्रकरण: इँटाभट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ

आलम प्रकरण: इँटाभट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ

२५ जेठ २०७७ जनकपुरधाम : रौतहटको राजपुर फरहदवामा १२ वर्षअघि जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साह छन् ।

तत्कालिन इँटा उद्योगमा मिस्त्रीको काम गर्ने साहलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरिएको हो । उनि पक्राउ परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम यसअघिनै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो । पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएका डीआईजी सिंहले बताए ।

पीडित पक्षका अनुसार रौतहटको राजपुर फरहदवा गाविस–४ (हाल राजपुर नगरपालिका ४) स्थित शेख इद्रिसको गोठघरमा चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आफताव आलमले चैत २७ गते बिस्फोटक पदार्थ स्टोर गरी बम बनाउन लगाएका थिए ।

त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएका छन् ।

पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको सिंहले बताए ।