अन्तरास्ट्रिय

प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा १६ राज्यमा कर्फ्यु

प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा १६ राज्यमा कर्फ्यु

१९ जेठ २०७७ एजेन्सी : प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका एक जना अमेरिकी मारिएको विरोधमा अमेरिकाका विभिन्न सहरमा गरिएका प्रदर्शनमा झडप भएका छन् । जर्ज फ्लोयडको मिनियापोलिस प्रहरीका एक अधिकारीले घुँडाले घाँटी थिचेका कारण ज्यान गएको थियो ।

न्युयोर्क, एटलान्टा, पोर्टल्यान्डलगायत सहरहरूमा गरिएका प्रदर्शन हिंसात्मक बन्दै गएका छन् । प्रदर्शनकारीले जर्जियास्थित सीएनएनको कार्यालय नजिकै प्रहरीको एउटा कार जलाइदिएका छन् ।

मिनेसोटा राज्यमा स्थिति निकै भयावह बनेको छ । मिनियापोलिसलगायतका विभिन्न सहरमा बेलुका ८ देखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । तर प्रदर्शनकारीले कर्फ्यु तोडेको जनाइएको छ । कैयौं स्थानमा टायर बालिएका छन् ।

प्रदर्शन स्थलहरूमा प्रहरी उपस्थिति निकै कम देखिएको छ । मिनियापोलिसमा लुटपाट भएका घटना टेलिभिजनहरूमा देखाइएको छ । मिनियापोलिसस्थित एक प्रहरी कार्यालयमा आगो लगाइएको छ । अमेरिकी रक्षा मन्त्रालयले सेनालाई मिनियापोलिसमा सम्भावित गस्तीका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा १६ राज्यमा कर्फ्यु

एटलान्टाका अधिकांश क्षेत्रमा सम्भावित मृत्यु र सम्पत्ति जोगाउनका लागि भन्दै संकटकाल घोषणा गरिएको छ । एटलान्टाका मेयर केइसा लान्सले प्रदर्शनकारीले न्याय माग गरेको भन्दा पनि हिंसामा उत्रेको बताएका छन् ।

न्युयोर्कको ब्रुकलिनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा कैयौं प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले कारहरू जनाइदिएका र घरका सिसा पनि फोडेको जनाइएको छ । प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मेयर बिल डे ब्लासिओले अमेरिकीहरूले यस्तो घटना पुन: देख्न नचाहेको बताएका छन् ।

ओरिगन राज्यको पोर्टल्यान्डमा लुटपाट मच्चिएपछि संकटकाल घोषणा गरिएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयमा आक्रमण गर्नुका साथै गाडीहरू जलाइदिएका छन् । डेट्रोइटमा एउटा गाडी प्रदर्शनकारीमाथि चलाइएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीले १९ वर्षीय युवकको मृत्युबारे छानबिन भइरहेको जनाएको छ । अन्त तीन जना घाइते भएको बताइएको छ ।
प्रहरी हिरासतमा अफ्रिकी मूलका नागरिकको मृत्युपछि अमेरिकामा १६ राज्यमा कर्फ्यु

टेक्सास राज्यको डालसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । फोनिक्स, इन्डियानापोलिस, डेनभर, लस एन्जलस, ओकल्यान्डलगायत सहरमा गरिएका प्रदर्शन पनि हिंसात्मक भएका बीबीसीले उल्लेख गरेको छ ।

सयौं मानिसले न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइटहाउस बाहिर विरोध जनाएका छन् । फ्लोयडको तस्बिर बोकेका प्रदर्शनकारीले ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्ने नारा लगाएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई ‘भयानक, भयानक’ भन्दै आफूले फ्लोयडका परिवारसँग कुराकानी गरेको बताएका छन् ।

ट्रम्पले यसअघि रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा अन्य उच्च पदाधिकारीसँग कुराकानी गरेका थिए । त्यसक्रममा उनले मिनियापोलिसमा जारी प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालनको विकल्पबारे विचार गर्न भनेका थिए । मिनेसोटाका गभर्नर टिम वाल्जले ५ सय नेसनल गार्डलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाइएको जनाएका छन् ।

२५ सहरमा कर्फ्यु

प्रदर्शन उग्र बन्दै गएपछि अमेरिकाका १६ राज्यका कम्तीमा पनि २५ सहरमा कर्फ्यु लगाइएको बताइएको छ । अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, जर्जिया, इलिनोय, केन्टकी. मिनेसोटा, न्युयोर्क, ओहायो, ओरेगन, पेन्सिल्भानिया, साउथ क्यारोलाइना, टेनेसी, युटा, वासिङ्टन र विस्कन्सिन राज्यमा २५ सहरमा कर्फ्यु लगाइएको सीएनएनले जनाएको छ ।

घटना के हो ?

प्रहरीको ज्यादतीका कारण मृत्यु भएको घटनाबारे सार्वजनिक भिडियोमा हतकडी लगाइएका फ्लोयडको घाँटीमा प्रहरीले घुँडा टेकेको देखिन्छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । उक्त भिडियो नजिकै रहेका एक बटुवाले खिचेर सार्वजनिक गरिदिएका थिए ।

विवाद कसरी सुरु भयो भन्नेबारे भिडियोमा देखिएको छैन । तर प्रहरी अधिकारी डेरेक चौविनले घाँटीमा घुँडाले टेकेपछि फ्लोयडले ‘मैले सास फेर्न सकिरहेको छैन, मलाई नमार’ भनेको सुन्न सकिन्छ । फ्लोयडको पोस्टमार्टम रिपोर्टमा उनमा मुटुको समस्या रहेको र प्रहरी अधिकारीको थिचाइले ‘उनको मृत्यु हुन सहयोग पुगेको’ उल्लेख छ ।

चौविनले फ्लोयडको घाँटीमा ८ मिनेट ४६ सेकेन्डसम्म थिचेको रिपोर्टमा जनाइएको छ । रिपोर्टअनुसार फ्लोयडले प्रतिक्रिया नजनाएको ३ मिनेटपछिसम्म पनि चौविनले घाँटी थिचिरहेका थिए । हेनेपिन मेडिकल सेन्टर लगिएका फ्लोयडलाई मृत घोषित गरिएको थियो । फ्लोयड ठगी आरोपमा पक्राउ परेका थिए ।

चौविनलाई गिरफ्तार गरी हत्या अभियोग लगाइएको छ । उनीसहित ४ जना प्रहरीलाई उक्त घटनाका कारण यसअघि नै सेवाबाट बर्खास्त गरिएको थियो । चौविनलाई सोमबार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने जनाइएको छ । चौविनलाई तेस्रो तहको हत्याको अभियोग लगाइएको छ तर फ्लोयडको परिवारले प्रथम तहको अभियोगको माग गरेको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिको श्वासप्रश्वास नलीमा दबाब नदिईकन घाँटी कसरी थिच्ने भन्ने तालिम प्रहरी अधिकारीलाई दिइने मिनेसोटा प्रहरीको ह्यान्डबुकमा उल्लेख छ । यसलाई घातक नहुने बल प्रयोग भन्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *