हजारौंको भिंड आएर क्वारेन्टाइनबाट भगाइएका १३ कोरोना संक्रमित समातिए
हजारौंको भिंड आएर क्वारेन्टाइनबाट भगाइएका १३ कोरोना संक्रमित समातिए
१० जेठ २०७७ नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनबाट भगाइएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका उनीहरूलाई नेपालगन्ज ल्याउने तयारी भइरहेको छ ।
स्थानीय नेताहरूको अगुवाइमा एक हजारभन्दा बढीको संख्यामा आएको समूहले संक्रमितहरूलाई दुईवटा क्वारेन्टाइनबाट भगाएको थियो । संक्रमण पुष्टि भएपछि नेपालगन्जबाट एम्बुलेन्स पठाइएको थियो । तर विभिन्न दलको अगुवाइमा आएका स्थानीयले संक्रमितलाई नेपालगन्ज लैजान नदिने अडान राखे । कोही एम्बुलेन्स घेराउ गर्दै सुरक्षाकर्मीसँग विवाद गर्न थाले । त्यही मौकामा केहीले संक्रमितहरूलाई क्वारेन्टाइनबाट भगाएका हुन् । प्रहरीले रातभर खोजी गरेर उनीहरूलाई फेरि नियन्त्रणमा लिएको छ ।
‘क्वारेन्टाइनबाट भागेका संक्रमितहरू कोही रूखमा चढेर लुकेको अवस्थामा भेटिए । कोही नालीमा लुकेका थिए । केही नेपाल–भारत सीमामा पुगेका थिए,’ बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले भने, ‘शनिबार बिहान ४ बजेसम्म खोजेर फेला पार्यौं ।’
हजारभन्दा बढीको संख्यामा स्थानीयहरू क्वारेन्टाइन पुगेपछि नेपालगन्जबाट थप सुरक्षाकर्मी पठाइएको थियो ।
बाँकेमा हालसम्म संक्रमितको संख्या १ सय १५ पुगेको छ । नरैनापुरमा मात्रै ८६ जना छन् । यसअघि नरैनापुरका संक्रमितलाई नेपालगन्ज ल्याउन नदिने भन्दै विवाद भएको थियो । कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा संक्रमितलाई राखिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । संक्रमितहरू भाग्ने र स्थानीयले भिडभाड गर्दा संक्रमणको जोखिम अझ बढेको छ ।