Breakingकोरोनाभाइरसदेशसमाचार

नौ सुरक्षाकर्मीमा देखियो कोरोना सङ्क्रमण

नौ सुरक्षाकर्मीमा देखियो कोरोना सङ्क्रमण

४ जेठ २०७७ काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अप्नाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना जवानमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये काभ्रेका २६ र महोत्तरीका ५२ वर्षीय पुरुष छन् । सङ्क्रमितहरुको यात्रा विवरणलगायतको विषयमा खोजी कार्य भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।

गृह मन्त्रालयका अनुसार, यो हप्तामा नेपाल प्रहरीको तीन, सशस्त्र प्रहरी तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये कपिलवस्तुमा चार, काठमाडौँमा दुई र बारामा एकजना छन् ।

विशेष गरी विभिन्न सीमा नाका, संक्रमितक्षेत्र, संक्रमित व्यक्तिको सम्बन्धमा आवश्यक सूचना सकंलन, बन्दाबन्दी कार्यान्वयन र उपत्यका प्रवेश नाकामा खटिएका सुरक्षाकर्मीहरू बढी जोखिममा रहेका छन् । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्म संक्रमित भएको पाइएको छ ।
कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा तथा सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई), हवल्दार, सशस्त्र प्रहरीको प्रहरी नायव निरीक्षक (सई) र अनुसन्धान विभागको सहायक अनुसन्धान अधिकृत छन् ।

काठमाडौँमा फेला परेका दुबैजना सशस्त्र प्रहरी कर्मचारी हुन् । शनिबार बारामा नेपाल प्रहरीका एक जवानमा कोरोना संक्रमण फेला परेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) कार्यान्वयनमा सुरक्षाकर्मी सक्रिय छन् ।

खुकुलो हुँदा सङ्क्रमण बढ्यो

कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रमसँगै बन्दाबन्दीमा पनि कडाइ गरिएको गृह प्रवक्ता केदारनाथ शर्मा बताउनुहुन्छ । केही दिनयता बन्दाबन्दीमा गरिएको खुकुलोपन भएसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रवक्ता शर्माले शनिबारबाट पास भएका सवारी साधनहरू सञ्चालन पनि बन्द गरिएको बताउनुभयो । जेठ १ गतेबाट एक जिल्लाबाट अर्को जिल्लामा र जेठ ३ गतेबाट पास भएका सवारी साधन सञ्चालन रोक लगाइएको छ ।

विभिन्न जिल्लाबाट सवारी पास जारी भएका सवारी साधन र सर्वसाधारणलाई समेत एक स्थानबाट अर्को स्थानमा हिँडेर ओहोर दोहोर गर्न पूर्ण रोक लगाइएको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सर्वसाधारणलाई बन्दाबन्दीको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *