तुलसीपुरका संक्रमितको बल्ल खुल्यो पहिचान

तुलसीपुरका संक्रमितको बल्ल खुल्यो पहिचान

३ बैशाख २०७७ दाङ : तुलसीपुरका कोरोना संक्रमितको बल्ल पहिचान भएको छ । संक्रमित तुलसीपुर उपमहानगरपालिका-४ का ४६ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा भएको परीक्षणमा तुलसीपुर-७ का ३४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको विवरण शुक्रबार सार्वजनिक गरेको थियो । उक्त विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकाले यसअघि ती संक्रमित काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत रहेको भन्ने यकिन गरेको थियो । ती कर्मचारीको रिपोर्ट नेगेटिभ भएको थाहा भएपछि खास संक्रमितको खोजी सुरु गरिएको थियो ।

अहिले पहिचान भएका संक्रमित चैत अन्तिम साता आफन्तको उपचारका क्रममा कोहलपुर हुँदै काठमाडौंको एक अस्पतालमा गएको र त्यसपछि दाङ नआएको पाइएको छ । काठमाडौंमै रहेका बेला कोरोना पुष्टि भएकाले दाङमा उनको अन्य व्यक्तिसँग सम्पर्क भएको नदेखिएको नगरपालिकाले जनाएको छ ।

शुक्रबार दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना गढवा गाउँपालिका ४ र ५ का २३ र ३६ वर्षीय पुरुष छन् । उनीहरुको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । उनीहरु कृष्णनगर हुँदै भारतबाट आएका थिए । कृष्णनगरमा ७ दिन क्वारेन्टाइनमा बसेपछि एम्बुलेन्समार्फत बुधबार गढवा पुगेका थिए । गढवा पुगेपछि घर जान नदिई सिधै क्वारेन्टाइनमा राखिएको थियो । त्यहीँबाट स्वाब परीक्षण गर्ने क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

उनीहरुसँगै कृष्णनगरबाट एम्बुलेन्समा आएर गढवा-१ कालाकाटेमा ओर्लिएका एक व्यक्ति घोराही-१२ का रहेको खुलेको छ । उनलाई घोराही-३ कुइरेपानीस्थित क्वारेन्टाइनमा राखी स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ । संक्रमितसहित पाँच जनालाई कृष्णनगरबाट एम्बुलेन्समा ल्याउने चालकलाई पनि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्न थालिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ