पूर्वराजा ज्ञानेन्द्रको सवारी पास रद्द, झापाबाट काठमाडौँ फर्किन पाएनन
पूर्वराजा ज्ञानेन्द्रको सवारी पास रद्द, झापाबाट काठमाडौँ फर्किन पाएनन
२ जेठ २०७७ काठमाडौं : लकडाउनका कारण झापामा अड्किएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई जिल्ला प्रशासन कार्यालयले बिहिबार काठमाडौं आउने पास दिएर सोहि दिन रद्ध गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन् ।
निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो । तर, फेरि गृहमन्त्रालले प्रक्रिया नपुगेको भनेपछि त्यसलाई रद्द गरिएको छ ।
‘सहमति लिएर मात्रै पास दिनुपर्नेमा सुरुमा नलिई दिइएको र अहिले फेरि सहमतिका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ।
गृहले सहमति दिनासाथ तुरुन्तै ई–पास उपलब्ध गराउने जिप्रकाले बतायो। पास उपलब्ध भएमा पूर्वराजा रानीले शुक्रबार काठमाडौं फर्किन चाहेका छन् । उनीहरुका साथमा पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा रानी निजी प्रयोजनमा गत चैत २ गते झापा गएका थिए ।
चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि उनीहरु फर्किन सकेनन् । उनीहरुका साथमा पूर्वाराजाका निजी सचिव सागर तिमल्सिना पनि छन् । झापामा पूर्वराजपरिवारको चियावगान छ । अहिले उनीहरु त्यहीँ रहेको घरभित्र बसिरहेका छन् ।
पूर्व राजारानी लकडाउनको पूर्ण पालना गरेर बसिरहेको संवाद सचिव पाठकले बताए । पूर्व युवराज्ञी हिमानी भने आफ्ना छोराछोरीहरुसहित बैंककमा छिन् ।