कालापानीमा हेलिकप्टरबाट सशस्त्र प्रहरी र हतियार पुर्याउँदैछ सरकार
कालापानीमा हेलिकप्टरबाट सशस्त्र प्रहरी र हतियार पुर्याउँदैछ सरकार
२९ वैशाख २०७७ काठमाडौं : निशर्त नेपाली भुमि रहेको कालापानी लिपुलेकमा भारतले सिमा मिच्दै सडक बनाएपछि विवाद उत्कर्षमा पुगे संगै लिपुलेकमा सरकारले हतियार सहित सशस्त्र क्याम्प राख्ने निर्णय गरेको छ ।
यसघि भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य थियो । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय भएर पनि अझै कार्यान्वयन हुन सकेको छैन ।
सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।’ अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उनले बताए ।
अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए । ‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।
त्यसपछि क्रमशः सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना रहेको समेत उनले जानकारी दिए ।
मन्त्री ज्ञवालीका अनुसार छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ । ‘यो स्थितिलाई अन्त्य गर्न पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी छ । त्यसअनुसार बजेट पनि छुट्याइएको छ’ मन्त्री ज्ञवालीले भने।
दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ ।
बीओपी राख्न सरकारले सशस्त्र प्रहरी बललाई १५ रोपनी जग्गा पनि उपलब्ध गराइएसकेको छ ।